Thaha

Tuesday 07 May - 6:05 pm NST

प्रचण्डको कार्यकाल चुनौतिपूर्ण : राप्रपा नेपाल

काठमाण्डौं, साउन १९ । राप्रपा नेपालले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकाल चुनौतीपूर्ण हुने टिप्पणी गरेको छ । प्रधानमन्त्री निर्वाचनपछि संसद भवन बाहिर पत्रकारसँग प्रतिक्रिया दिँदै अध्यक्ष कमल थापाले कठिन पृष्ठभूमिमा प्रधानमन्त्री बनेकाले प्रचण्डको कार्यकाल चुनौती रहने बताउनुभयो ।

दोस्रो विपक्षी दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री प्रचण्डको कार्यकाल सफल रहोस् भन्दै संविधान कार्यान्वयन, पुनर्निर्माण लगायत चुनौती रहेको बताउनुभयो । निवर्तमान उपप्रधानमन्त्री थापाले राप्रपा नेपालले नयाँ सरकारको काम हेरेर रचनात्मक र जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने पनि प्रष्ट पार्नुभयो ।

उहाँले नेपाली कांग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धनबीचको तीन बुँदे सहमतिमा खास नौलो कुरा नरहेको टिप्पणी गर्नुभयो । उहाँले मधेसी मोर्चा र कांग्रेस, माओवादीबीच भएको सहमतिमा केपी ओली नेतृत्वको सरकारले निर्णय गरिसकेका धेरै कुरा रहेको र मधेसी मोर्चा संवैधानिक प्रक्रियामा आएकोले ओलीको जित भएको दाबी गर्नुभयो ।